चितवन, २४ भदौं । संघीय राजधानी बाहिर पहिलो पटक चितवनमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लिमा अस्पतालका अर्थोपेडिक सर्जन डा.प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । हस्पिटलले ४८ वर्षदेखि कुहिनाको समस्या भएका भरतपुर १० का ५५ वर्षिय पुरुषको जोर्नी शल्यक्रिया गरेको हो ।
‘केही महिना अघि काठमाण्डौँको बि.एण्ड.बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएको थियो । हामीले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलोपटक प्रत्यारोपण गर्न सफल भएका छौँ’–हस्पिटलका अध्यक्ष समेत रहनुभएका डा.प्रमोद लामिछानेले भन्नुभयो । भदौ १६ गते सफलता पुर्वक प्रत्यारोपण गरेको हो । बिरामी सोमबार डिस्चार्ज हुन लागेको लामिछानले जानकारी दिनुभयो ।
कुहिनाको जोर्नी प्रत्यारोपण जटिल र महंगो हुन्छ । अन्तराष्ट्रिय अभ्यास हेर्दा पनि कुहिनांको जोर्नी प्रत्यारोपण जटिल र अरु जोर्नी प्रत्यारोपणको तुलनामा निकै कम संख्यामा हुने शल्याक्रिया रहेको अर्थोपेडिक डा.अनिल भट्टराईले जानकारी दिनुभयो । बिरामी भेटिएमा नियमित रुपमा जोर्नी प्रत्यारोपण गर्न सकिने उहाँले बताउनुभयो । जोर्नी प्रत्यारोपणका लागि भारतबाट एक जना प्राविधिक आएका थिए । कुहिनाको कृतिम जोर्नीलाई साढे तीन लाखको हाराहारीमा पर्ने गर्दछ । शल्यक्रिया र हस्पिटल शुल्क गरेर पाँच लाख हाराहारीमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको हस्पिटले बताएको छ ।
सफल शल्यक्रिया पछि बिरामीले खुसी व्यक्ति गर्नुभयो । ‘अहिलेसम्म टिसट लगाएको थिएन । सर्ट मात्र लगाउने गरेको थिए,’उहाँले भन्नुभयो ‘टिसट लगाउन मिल्ने र हात सोझो हुँदा धेरै खुसी लागेको छ ।’ उहाँको हातमा सात वर्षको उमेरदेखि नै यस्तो समस्या देखिएको हो ।
नेपालमा घुँडा र हिपको प्रत्यारोपण धेरै हुने गर्दछ । एलाईभ हस्पिटलले यसअघि सयको हाराहारीमा घुँडाको प्रत्यारोपण गरिसकेको छ । एलाइभमा एक सय ५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपक तथा मेरुदण्डको अपरेशन, घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण गरिएको छ ।–00—