आजदेखि तीन दिनसम्म पशुपति क्षेत्रमा हरिसिद्धिको नाच देखाइँदै

चैत २५ काठमाण्डौ । आजदेखि तीन दिनसम्म पशुपति क्षेत्रमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्त्वको हरिसिद्धिको नाच प्रदर्शन हुँदैछ ।

श्री हरिसिद्धि नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ । जात्राका लागि हरिसिद्धि मन्दिरमा रहेको ललितपुर महानगरपालिका वडा नं २८ बाट एक सय जना देवगण आउने छन् ।देवगणलाई चावहिलको एक पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलिप वैद्यले जानकारी दिनुभयो । हरिसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो ।११३३ सालमा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो । जसलाई राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको हो ।

२०६६ सालअघि पनि झन्डै आधा शताब्दी जात्रा लोप भएको थियो । हरिसिद्धिका धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरिसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुहुन्छ ।तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्त्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो । जात्रा सुरु भएको इतिहासअनुसार झन्डै दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताउनुभयो ।

जात्राका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीय बासिन्दा र सहयोगीबाट जुटाइने भएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु