बुचा घटनालाई लिएर पुटिनमाथि युद्ध अपराधको मुद्धा चलाउन आह्वान

चैत २२ एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ ।

रुसी सैनिकहरुले युक्रेनमा युद्ध अपराध गरेको आरोपका सन्दर्भमा थप प्रमाणहरु बाहिर आउँदै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले मुद्धा चलाउनका लागि माग गरेका हुन् ।

तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य कारुणिक रहेको भन्दै जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसी सैनिकको कब्जामा रहेको बुचा शहर केही दिनअघि मात्रै युक्रेनको नियन्त्रणमा आएको हो । त्यहाँबाट रुसी सैनिक फिर्ता भएपछि मात्रै विनाश र हत्याको हृदयविदारक तस्बिर बाहिर आएका हुन् ।रुसी सैनिकले छोडेपछि बुचा पुगेको पत्रकारहरुले कम्तीमा २० जनाको शव बाटोमा अलपत्र अवस्थामा देखेको उल्लेख गरेका छन् । र पनि रुसले यो सत्य नभएको दाबी गर्दै आएको छ ।यसअघि मारिपोलमा बाल अस्पताल तथा प्रसूति वार्डमा भएको आक्रमणबाट पनि सुरुमा रुसले आफ्नो संलग्नता अस्वीकार गरेको थियो । भग्नावशेष बनेको अस्पतालबाट रक्ताम्य भएर बाहिँदै गरेकी प्रसव पीडाकी महिलाको तस्बिरलाई रुसले ‘फेक’ भनेको थियो । तर ती महिलाले अर्को अस्पतालमा सन्तान जन्माएकी थिइन् ।

रुसी सैनिकले नियोजित रुपमा नै युक्रेनमा बलात्कार, यातना र हत्या गरेको विश्वसनीय सूचना आफूहरुलाई प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

एउटा भिडियो सन्देशमा जेलन्स्कीले रुसी क्रुरताको निन्दा गर्दै यो आफ्नै देशमा बाँच्न पाउने हक हननको चरम रुप भएको बताउनुभयो । बुचा घटनालाई लिएर आज आफूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्न लागेको पनि जेलन्स्कीले बताउनुभयो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु