देशका केही ठाउँमा आज पानी पर्ने सम्भावना,अझै तीन दिन बदली रहने

चैत १८ काठमाण्डौ । देशका केही ठाउँमा आज बेलुकातिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताउनुभयो ।

प्रिमनसुनको बेलामा कतै कतै एक्कासि एकैछिन ठूलो पानी पर्न सक्ने उहाँको भनाई छ । प्रदूषण हट्ने गरी ठूलो पानी पर्न नसकेको र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

आज राति प्रदेश नं १ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सफा रहने अनुमान छ। प्रदेश १ का पहाडी भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा मेघगर्जनसहित चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशको पहाडी भागमा सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव १ डिग्री सेल्सियस रहेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु