चैत १६ ताप्लेजुङ । गएको तीन वर्षदेखि कोरोना सङ्क्रमणका कारण शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आउन थालेका छन् ।
कोरोनाको जोखिम घटेसँगै सिजन अगाडि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आएका पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
पाथीभरा दर्शनका लागि वैशाखभरि नै मुख्य सिजन मानिन्छ । चैते दशैँ नजिकिएसँगै पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीहरूको सिजन सुरु भएको हो ।
काफ्लेका अनुसार सुकेटारदेखि तल्लो फेदी नजिक भालुगौंडेसम्मको मोटरबाटो मर्मत गरी आवतजावत गर्न सहज बनाइएको छ । सिजनमा पाथीभरा दर्शनका लागि देशका विभिन्न जिल्लासहित भारतको दार्जिलिङ र सिक्किमबाट पनि तीर्थयात्री आउने गरेका छन् । पाथीभराको दर्शन गरेपछि मनले चिताएका कुराहररू पुग्ने विश्वास रहिआएको छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा देवीको दर्शनसँगै त्यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र किराँतहरूको धार्मिक आस्थाको केन्द्र फक्ताक्लुङ (कुम्भकर्ण) लगायतका हिमाल हेर्न सकिने भएकाले भने यहाँ आकर्षण छ ।