चैत १६ चितवन । आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव अहिले नेपालमा छ। आज बिहानैदेखि चितवन सहित देशका धेरै ठाउँको मौसम धुम्म छ । कतै कतै हल्का पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । दिउँसो पनि काठमाण्डौसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसविद्ले बताएका छन् ।
पर्सि शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ । यस्तै, तत्काल काठमाण्डौको प्रदूषण हट्ने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् । प्रदूषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने तर अहिले त्यस्तो नदेखिएको मौसमविद् मानन्धरले बताउनुभयो । ‘पानी नपरेसम्म धुम्म भएको मौसम खुल्दैन’ उहाँले भन्नुभयो,‘ वायुमण्डलमा थेग्रिएर बसेको प्रदूषण पखाल्नेगरी वर्षा गराउने प्रणाली भित्रिएको छैन ।’
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यसैबीच तराई भूभागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।