चैत १४ खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् ।बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।