चैत १० सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका – ६ लिमीमा एक महिलाले आफ्नै घरमा आगो लगाएकी छन्।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार लिमीको हल्जी गाउँकी ५२ वर्षीया लामु तामाङले आफ्नै घरमा आगो लगाएकी हुन्।केही समययता मानसिक अवस्था ठीक नभएकी एकल महिला तामाङले लगाएको आगोले उनको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको अध्यक्ष लामाले जानकारी दिए।गाउँलेले समयमै आगलागी नियन्त्रणमा लिएकाले मानवीय तथा थप क्षति हुनबाट जोगिएको बताए। उनका अनुसार आगलागीबाट के कति क्षति भएको हो सोको पूर्ण विवरण आउन बाँकी छ।
आफ्नै घरमा आगो लगाउनुभन्दा चार दिन अगाडिदेखि तामाङ हराएकी थिइन्। हराएर घर आएकै दिन उनले आफ्नै घरमा आगो लगाएको स्थानीयले बताएका छन्। आफ्नै घरमा आगो लगाएकी तामाङलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। उनलाई खुला छोड्दा अन्य घरमा समेत आगलागी गर्ने डरले नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।
लिमी जाने नारा र न्यालु नाका हिमपातले बन्द रहेको छ। जसले गर्दा घटनास्थलमा प्रहरी जान सक्ने अवस्था छैन।