नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा मूर्ति फिर्ता ल्याइयो

फागुन १९ काठमाण्डौ । नेपालबाट चोरी भएर अमेरिका लगिएका सम्पदा्मूर्ति नेपाल फिर्ता गरिएको छ ।चोरी गरी अमेरिका पुर्‍याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको हो।

अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहबीच बुधबार पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो ।

अमेरिकाको एक संग्रहालय र एक ग्यालरीमा राखिएका उक्त (तीन थान)सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ। यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति छ।

फिर्ता गरिएका पुरातात्विक महत्वका तीन वस्तुमध्ये ‘रुविन म्युजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुई वटा छन्। जसमध्ये एउटा सत्रौँ शताब्दीको कलात्मक काष्टतोरण छ, जुन ललितपुरको यम्पीमहाविहार (इवही) को प्रवेशद्वारमाथि रहेकामा मर्मत गर्ने क्रममा झिकिएको थियो। सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो।अर्को १४औँ शताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु छ। उक्त सम्पदा काठमाडौँ महानगरपालिका–२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालमा थियो।

सन् १९९७ मा उक्त सम्पदा हराएको थियो। यसरी हराएको सम्पदा विभिन्न माध्यम हुँदै अन्त्यमा दातामार्फत उपहारको रूपमा अमेरिकाको उक्त संग्र्रहालयमा पुगेको पाइएको छ। उक्त वस्तु फिर्ताका लागि म्युजिएमले आफ्नै प्रयासमा अध्ययन गरी स्वेच्छिक रूपमा दिने आशय प्रकट गरेपछि कूटनीतिक पहलमा ल्याइएको हो। सम्पदा लिएर उक्त म्युजिएमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त संग्र्रहालयका प्रबन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आएका थिए। संग्र्रहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ।त्यस्तै, अर्को एउटा भने अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो। १३औँ शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति छ। उक्त मूर्ति श्री सभानन्दा नामका बौद्ध अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नू भनी उपहारस्वरूप छाडेर गएका पाइएको छ। उक्त मूर्ति काठमाडौँको ओमबहालस्थित न्हुछेबहाको रहेको छपाइएको छ। त्यहाँबाट कसैले चारी गरी लगेको थियो। उक्त मूर्तिको मूल्य ३० हजार डलर (रु ३० लाख बढी) छ।

१७औँ शताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर (रु एक करोड १० लाख बढी) र १४औँ शताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर (रु २२ लाख बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ।

विभागद्वारा बुधबार आयोजित सम्पदा हस्तान्तरणका क्रममा मन्त्री आलेले सांस्कृतिक धरोहर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नै खर्चमा नेपाल ल्याएर हस्तान्तरण गरेकोमा संग्र्रहालयका प्रतिनिधिलाई धन्यवाद दिए। सचिव न्यौपानेले यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा विदेशमा अझै रहेकाले त्यसलाई पनि कूटनीतिक पहल गरी ल्याउने प्रयास भइरहेको बताए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु