फागुन १९ काठमाण्डौ । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् ।
विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।
यो पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।
महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिँदै नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।