प्रधानमन्त्री बालेन र मोदीबीच आधा घण्टा एक्लाएक्लै वार्ता हुने

काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता हुने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई प्राथमिकतामा राखिएको छ ।

भ्रमणको तयारीका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री शाहको भ्रमण तालिका, सम्भावित कार्यसूची तथा दुई देशबीच हुन सक्ने समझदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

भ्रमणको तयारीको अवस्था बुझ्न परराष्ट्र मन्त्रालय र सुरक्षा निकायका अधिकारी सम्मिलित टोली यसै साता नयाँदिल्ली जाने तयारीसमेत गरिएको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ । उक्त छलफलमा आर्थिक सहयोगका प्रस्ताव, हवाई सम्पर्क विस्तार र द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

विशेषगरी भारतको आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको लामो समयदेखिको मागमा यस भ्रमणका क्रममा प्रगति हुन सक्ने अपेक्षा गरिएको छ । नेपालले यी दुई हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग वर्षौंदेखि आग्रह गर्दै आएको छ ।

Share:

सम्बन्धित समाचारहरु