एनपीएलमा आज दुई खेल : विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ । विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

यता, जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुईमा जित र एकमा हार निकालेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो । जनकपुर आज विराटनगरलाई पराजित गर्दै आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

यसैगरी, आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

लुम्बिनीले दुई खेलमध्ये एकमा जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको लुम्बिनीको चितवन राइनोजसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलबाट दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

पोखरा एभेन्जर्सले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । आज लुम्बिनीविरुद्ध मैदान उत्रँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी भने जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा रहनेछ ।

Share:

सम्बन्धित समाचारहरु