प्रहरीलाई जनताकेन्द्रित भएर काम गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं, असोज ३० – गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्दै जनताकेन्द्रित भएर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।
प्रहरीले नागरिकको विश्वास जित्न आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिँदै उनले साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए।

“प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,” उनले भने, “सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन।”
गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई व्यावसायिक, निष्पक्ष र जवाफदेही बनाउँदै नागरिकको सुरक्षा र सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

Share:

सम्बन्धित समाचारहरु