आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं । धादिङको गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द गरिने भएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मतका लागि राजमार्गमा सवारी आवागमन रोक्न लागिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न उक्त समयका लागि राजमार्ग बन्द गरिने जानकारी दिएकी छन्।

गत असोज २३ गते शुक्रबार सडक भासिएपछि उक्त क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि सडक खुलाइएको भए पनि थप मर्मतसम्भार आवश्यक परेकाले पुनः सवारी आवागमन बन्द गर्न लागिएको हो।

दसैँको मुखमा राजधानीबाट बाहिरिने प्रमुख राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या हुने देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले चाडपर्वका बेला राजमार्ग बन्द हुँदा सवारी आवागमन व्यवस्थापनमा चुनौती थपिएको बताए।

उनले दसैँका लागि हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायी र सर्वसाधारण यात्रु दुवै प्रभावित हुने बताए।

दसैँ मनाउन काठमाडौं छाड्ने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको छ। असोज १७ गतेदेखि २५ गतेसम्म काठमाडौंको नयाँ बसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ जना यात्रु बाहिरिएका थिए। यस्तो अवस्थामा पृथ्वी राजमार्ग बन्द हुँदा यात्राको समय र सवारी व्यवस्थापनमा थप दबाब पर्ने देखिएको छ।

Share:

सम्बन्धित समाचारहरु