काठमाडौं । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाउन थालिएको हो।
गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ। नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने गर्छन्।
धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सहज हुने विश्वासका कारण मृतकको सम्झनामा गाईजात्रा निकाल्ने चलन रहिआएको छ।
गाईजात्रा सुरु हुनुको इतिहास राजा प्रताप मल्लसँग जोडिएको पाइन्छ। पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने अनुभूति गराउने उद्देश्यले राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको इतिहासमा उल्लेख छ।
गाईजात्रा मनाउँदा पनि रानीको शोक कम नभएपछि राजाले विभिन्न प्रहसन, हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न आदेश दिएको जनश्रुति छ। त्यसै समयदेखि गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्पराको विकास भएको मानिन्छ।
गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद भएर नगर परिक्रमा गराउने परम्परा अहिले पनि कायम छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गाईजात्राको विशेष रौनक देखिन्छ भने नेवार समुदायको बाक्लो बसोबास रहेका देशका अन्य शहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।
पर्वका क्रममा मृतकको सम्झनामा रामायणका करुण रसका गीत गाउने, नाचगान गर्ने, प्रहसन प्रस्तुत गर्ने तथा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने गरिन्छ। पछिल्ला वर्षमा गाईजात्रा हास्य कलाकारका लागि समेत समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित भएको छ।
काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतका शहरमा पनि गाईजात्रा विशेष रूपमा मनाइन्छ।


