भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, खोजी तथा उद्धार जारी

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६१६ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहानसम्म देशका विभिन्न जिल्लाबाट ६१६ जनाको शव फेला परेको जनाएको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाका नदी तथा तटीय क्षेत्रमा फेला परिरहेका छन्। प्राप्त विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।

प्रवक्ता काफ्लेले खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने संकेत गर्दै पछिल्लो विवरण संकलनको काम भइरहेको बताए। उनले बाढी प्रभावित क्षेत्रहरूमा सुरक्षा निकायको सक्रिय परिचालन भइरहेको जानकारी दिए।

उनका अनुसार बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ता व्यक्तिको खोजी गर्ने, घाइतेको उद्धार तथा राहत व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ। साथै स्थानीय तह, विभिन्न सरकारी निकाय र समुदायसँगको समन्वयमा अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालन सहज बनाउने प्रयास पनि भइरहेको छ।

नेपाल प्रहरीले विपद्बाट प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु