जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै हालसम्म संकलन भएका २३३ शवमध्ये ४ वटा शवको मात्रै पहिचान भएको र बाँकी २२९ शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा राखिएको जनाएको छ। ती शव तथा शवका अवशेषहरू लामो समयसम्म राख्दा सड्न थालेकाले संक्रमण र महामारी फैलिन सक्ने जोखिम बढेको स्वास्थ्य क्षेत्रबाट सुझाव प्राप्त भएको प्रशासनले जनाएको छ।
यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गते बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८२’ बमोजिम ती शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार व्यवस्थापनअघि सबै शवको डीएनए नमुना संकलन गरिनेछ। साथै, भविष्यमा पहिचानका लागि आवश्यक अभिलेख सुरक्षित राखिने जनाइएको छ।
निर्णयअनुसार शनिबारदेखि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापनको कार्य सुरु गरिने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा विपद्को कठिन परिस्थितिमा उक्त निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय तथा आवश्यक सूचना सम्प्रेषण गरिदिन सबै सरोकारवालासँग आग्रह गरिएको छ। साथै, यस निर्णयबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना पनि गरेको छ।


