चितवन । विपद्का समयमा चोरी, लुटपाट तथा अमानवीय गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी राख्दै तत्काल कानुनी दायरामा ल्याउने नीति चितवन प्रहरीले अघि बढाएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।
२०८३ भदौ १० गते तिब्बतबाट आएको भीषण बाढीले भोटेकोशी नदीमा बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको अनुसन्धान थालेको थियो।
भिडियोको अनुसन्धानका क्रममा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई प्रहरीले २०८३ भदौ ११ गते भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीला चोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का समयमा पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय व्यवहार सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनले बताए।
भोटेकोशी बाढीपछि त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गर्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ।
प्रहरीले विपद्का समयमा चोरी, लुटपाट वा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण फेला परे तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।


