चितवनमा शव व्यवस्थापन र पीडित सहजीकरणका लागि सुरक्षा समितिको बैठकले गरेको निर्णय यस्तो छ

चितवन, ११ भदौ  । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा बेपत्ता व्यक्तिका परिवारलाई सहजीकरण गर्न चितवन जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन बनेका व्यक्तिका आफन्तलाई सहयोग, सहजीकरण र सूचना व्यवस्थापनका लागि तत्काल ‘विपद् सहायता कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ। सहायता कक्षमार्फत प्रभावित परिवारलाई आवश्यक सूचना तथा समन्वय सेवा प्रदान गरिने जनाइएको छ।

बैठकले चितवन जिल्लामा हालसम्म प्राप्त भएका र आगामी दिनमा फेला पर्न सक्ने शवहरूको संरक्षणका लागि भरतपुर महानगरपालिका–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवन प्रयोग गर्ने निर्णय गरेको छ। उक्त भवनको मर्मत, सम्भार तथा आवश्यक लजिस्टिक व्यवस्थापन भरतपुर महानगरपालिकाले गर्नेछ। भवन अपुग भएमा भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा रहेको शवदाह गृहसमेत प्रयोग गरिने जनाइएको छ।

शव संरक्षणका लागि आवश्यक ड्राइ आइस (Dry Ice) को व्यवस्थापन चितवन उद्योग संघ, चितवन उद्योग वाणिज्य संघ तथा रत्ननगर उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको छ। साथै शव खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा महानगर प्रहरीलाई समन्वयात्मक रूपमा परिचालन गरिने भएको छ।

बैठकले पहिचान भएका शवहरूको यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउने निर्णयसमेत गरेको छ। शव पहिचानका लागि अन्य जिल्लाबाट चितवन आउने पीडित परिवारका सदस्यलाई होटल संघ चितवन र क्षेत्रीय होटल संघको समन्वयमा निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाइने जनाइएको छ।

यस्तै राहत उद्धारमा खटिने स्वयंसेवक तथा सुरक्षाकर्मीका लागि खानेपानी र खाजाको व्यवस्था रत्ननगर उद्योग संघ तथा सामाजिक संस्थाको सहयोगमा गरिने भएको छ। मृतकको शव व्यवस्थापनका लागि आवश्यक ‘डेड बडी ब्याग’ को व्यवस्था रत्ननगर बकुलहर अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी चितवनले गर्ने निर्णय भएको छ भने सेनिटाइजर, मास्क र पञ्जालगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन सर्जिकल व्यवसायी संघ चितवनले गर्नेछ।

बैठकले देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै आसन्न हरितालिका तीज पर्वलाई अत्यन्त सामान्य र संयमतापूर्वक मनाउन चितवनवासीमा अपिल गरेको छ। साथै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर लगायतका सामग्री फेला परेमा तत्काल सुरक्षानिकायलाई बुझाउन आग्रह गरिएको छ।

जिल्ला सुरक्षा समितिले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्ण सतर्कता अपनाउन अनुरोध गर्दै विपद्को जोखिम अझै पूर्ण रूपमा हटिनसकेको जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु