बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनको मिति विवादका क्रममा कार्यवाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात भएको छ।
भैरहवास्थित संघ कार्यालयमा भएको बैठकमा विवाद बढेपछि लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव तथा संघका पूर्वअध्यक्ष विनय ज्ञवालीले बेल्बासेमाथि मुक्का प्रहार गरेको आरोप छ। बेल्बासेका अनुसार आक्रमणबाट उनको कानमा चोट लागेको छ।
मंसिरमा अधिवेशन गर्ने निर्णयविरुद्ध असोजमै गर्नुपर्ने विषयमा विवाद भएको बताइएको छ। घटनापछि बेल्बासेले प्रहरीमा उजुरी दिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेका छन्।
यता, ज्ञवालीले बेल्बासेले अमर्यादित शब्द प्रयोग गरेपछि आफूले हातपात गरेको स्वीकार गरेका छन्। बेल्बासे पक्षले ज्ञवालीमाथि कानुनी कारबाही र प्रदेश महासचिव पदबाट हटाउन माग गरेको छ।


