किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं, २८ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले समाचार लेखेकै आधारमा कुनै पत्रकारलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका छन्।

उनले नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक श्रेष्ठलाई समाचार प्रकाशनकै विषयलाई लिएर राज्य पक्षबाट पक्राउ गरिएको भन्दै यसलाई लोकतन्त्रको उपहासको संज्ञा दिएका छन्।

प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारको धरपकड कानुनी प्रक्रिया र विधिसम्मत हुनुपर्ने बताएका छन्।

उनले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

समाचार प्रकाशनसँग सम्बन्धित विषयमा श्रेष्ठ पक्राउ परेपछि विभिन्न सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रतासँग सम्बन्धित पक्षहरूले समेत चासो व्यक्त गरिरहेका छन्।

Share:

सम्बन्धित समाचारहरु