भाषा संरक्षण भनेको सभ्यता र पुर्खाको ज्ञान जोगाउनु हो : मन्त्री गौतम

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले भाषा जीवन्त राख्नु भनेको सभ्यता, संस्कृति र पुर्खाहरूको ज्ञानलाई पुस्तान्तरण गर्दै अगाडि बढाउनु भएको बताउनुभएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घद्वारा सोमबार काठमाडौँमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गौतमले मातृभाषाको संरक्षण र प्रयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

‘मातृभाषा पत्रकारिता ,भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा बोल्दै उहाँले भाषा प्रयोगमा नआए जीवन्त रहन नसक्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “कतिपय भाषाहरू हाम्रो समुदायमा अझै छन्, तर तिनलाई प्रयोगमा ल्याएनौँ भने ती भाषा जीवन्त रहँदैनन्। भाषालाई जीवन्त राख्नु भनेको हाम्रो सभ्यता, संस्कृति र पुर्खाको ज्ञानलाई पनि अगाडि बढाउनु हो।”

मन्त्री गौतमले राज्यका सूचना देशका सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसमा मातृभाषी सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

“राज्यले आफ्ना तर्फबाट सूचना प्रवाहको प्रयास गरिरहेको छ। तर अझै पनि धेरै नागरिक सूचनाको पहुँचबाट टाढा छन्। त्यो दूरी मेटाउने महत्वपूर्ण जिम्मेवारी पत्रकारहरूको काँधमा छ,” उहाँले भन्नुभयो।

उहाँले मातृभाषी पत्रकारहरूले आफूलाई हेपिएको वा पेलिएको महसुस नगर्न आग्रह गर्दै समाज र संस्थागत संरचनाभित्र रहेका कमजोरीबारे सबैले आत्मआलोचना गर्दै सुधारको बाटो रोज्नुपर्ने धारणा राख्नुभयो।

“सूचनाको पहुँचबाट टाढा रहेका समुदायलाई सूचना दिएर मूलधारमा ल्याउन मातृभाषी पत्रकारहरूले महत्वपूर्ण योगदान गर्नुभएको छ। यहाँहरूले महसुस गर्नुभएको विभेदको कारणबारे सबैले आत्मआलोचना गरेर सुधारतर्फ अघि बढ्नुपर्छ,” मन्त्री गौतमले भन्नुभयो।

उहाँले समावेशी सञ्चार प्रणाली निर्माण तथा मातृभाषामा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन राज्य र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि बताउनुभयो।

Share:

सम्बन्धित समाचारहरु