विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह

भरतपुरमा ११ केभी भूमिगत विद्युत् लाइन पहिलोपटक चार्ज गरिँदै

भरतपुर, १८ साउन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रमा निर्माण सम्पन्न भएको ११ केभी भूमिगत तथा ओभरहेड विद्युत् प्रसारण लाइन पहिलोपटक चार्ज गर्ने भएको छ ।

आयोजनाका अनुसार नयाँ प्रसारण लाइनलाई परीक्षण तथा सञ्चालनका लागि भोलि बिहान ७ बजेदेखि विद्युत् प्रवाह (चार्ज) गरिनेछ ।

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि आँपटारी चोक, पोखरा बसपार्क, लिलाचोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण लाइनमा विद्युत् प्रवाह गर्न लागिएको हो ।

पहिलोपटक विद्युत् चार्ज गर्ने क्रममा सुरक्षा जोखिम हुनसक्ने भन्दै आयोजनाले उक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाले सो रुटमा रहेका विद्युत्का पोल, ट्रान्सफर्मर, फिडर पिलर बक्स तथा अन्य विद्युतीय उपकरण र संरचनालाई नछुन तथा सुरक्षित दूरी कायम गर्न अनुरोध गरेको छ । भूमिगत केवल बिछ्याइएको क्षेत्रमा पैदल यात्रा वा सवारीसाधन सञ्चालन गर्दा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, बालबालिकालाई विद्युतीय संरचनानजिक जान वा खेल्न नदिन अभिभावकलाई सचेत गराइएको छ । उक्त क्षेत्रमा आयोजनाको अनुमतिबिना उत्खनन् गर्ने, खाल्डो खन्ने, तार काट्ने वा अन्य कुनै गतिविधि नगर्न तथा नगराउन पनि आग्रह गरिएको छ ।

आयोजना प्रमुख सुवेदीले परीक्षण तथा चार्जिङका क्रममा कुनै अप्रिय घटना हुन नदिन स्थानीय बासिन्दा, सर्वसाधारण तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

Share:

सम्बन्धित समाचारहरु