भरतपुर, १० साउन । चितवनमा साँझ ६ बजेदेखि मध्यरातसम्मको समय सवारी दुर्घटनाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको तथ्याङ्कले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०८२/८३ को दुर्घटना विवरण सार्वजनिक गर्दै उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना भएको जनाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गत आर्थिक वर्षमा साँझ ६ बजेदेखि राति १२ बजेसम्म मात्रै २१४ वटा सवारी दुर्घटना भएका छन्, जुन अन्य समयको तुलनामा सबैभन्दा धेरै हो।
तथ्याङ्कअनुसार सोही अवधिमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १२४, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म १५६ तथा राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५१ वटा दुर्घटना भएका छन्।
ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेश, रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराम पाण्डेले साँझको समयमा दुर्घटना बढ्नुका पछाडि कम दृश्यता, चालकको शारीरिक तथा मानसिक थकान, सडकमा सवारीको अत्यधिक चाप र गन्तव्यमा छिट्टै पुग्ने हतार मुख्य कारण रहेको बताउनुभयो।
उहाँका अनुसार सूर्यास्तपछि प्रकाशको अवस्था परिवर्तन हुँदा चालकको आँखालाई वातावरणसँग अभ्यस्त हुन केही समय लाग्ने गर्छ। अधिकांश सडकमा पर्याप्त सडकबत्तीको अभाव, मोड तथा खाल्डाखुल्डी समयमै नदेखिनु र विपरीत दिशाबाट आउने सवारीसाधनको हेडलाइटको तीव्र प्रकाशले समेत दुर्घटनाको जोखिम बढाउने गरेको छ।
लामो दूरीका चालक तथा दिनभर काम गरेर घर फर्किरहेका सवारी चालकहरू थकित हुने भएकाले तत्काल निर्णय लिन कठिन हुने र त्यसले दुर्घटनाको सम्भावना बढाउने प्रहरीको निष्कर्ष छ।
यसैबीच, गत वैशाख ८ गते साँझ भरतपुर महानगरपालिका–२ आँपटारी भँगेरीचोकमा कारको ठक्करबाट तीन वर्षीय रिदम फुनाको मृत्यु भएको घटनालाई पनि प्रहरीले साँझको समयमा हुने दुर्घटनाको उदाहरणका रूपमा उल्लेख गरेको छ। घटनाको अनुसन्धानका क्रममा चालकले अँध्यारोका कारण बालक नदेखिएको बयान दिएका थिए।
ट्राफिक प्रहरीका अनुसार चितवनमा दुईपाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी जोखिममा रहेका छन्। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५२ जना दुईपाङ्ग्रे सवारीमा सवार थिए। तीमध्ये ३८ जना चालक रहेका छन् भने सयौँ चालक तथा यात्रु घाइते भएका छन्। यसले हेल्मेटको सही प्रयोग, सुरक्षित गति र ट्राफिक नियमको पालनामा अझै सुधार आवश्यक रहेको देखाएको प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित सवारी जाँच, रात्रीकालीन संयुक्त चेकिङ, लिडार गनमार्फत गति नियन्त्रण, दुई मिनेट सचेतना अभियान, विद्यालयस्तरीय सडक सुरक्षा कार्यक्रम, चालक स्वास्थ्य परीक्षण तथा सडकमा लेन डिभाइडर र कन्भेक्स मिरर जडानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यद्यपि बढ्दो सवारी चाप, सीमित जनशक्ति, आधुनिक प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनको अभाव र नागरिकमा ट्राफिक सचेतना अपेक्षाअनुसार नबढ्नु अझै चुनौतीका रूपमा रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो।
ट्राफिक प्रहरीले विशेषगरी साँझ ६ बजेदेखि मध्यरातसम्मको समयमा कडा निगरानी, गति नियन्त्रण, मादक पदार्थ सेवन परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सके सवारी दुर्घटनाको दर उल्लेखनीय रूपमा घटाउन सकिने विश्वास व्यक्त गरेको छ।

