सिद्धबाबा सुरूङ मार्ग ७० प्रतिशत सम्पन्न, कात्तिक मसान्तदेखि सवारी सञ्चालन गर्ने तयारी

पाल्पा, १२ साउन । पाल्पाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको निर्माण कार्य उल्लेखनीय रूपमा अघि बढेको छ। आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पुगेको छ।

आयोजनाले सुरूङभित्रको निर्माण तथा फिनिसिङका बाँकी कामलाई तीव्र गतिमा अघि बढाउँदै आगामी कात्तिक मसान्तभित्र सवारी सञ्चालन गर्ने लक्ष्य राखेको छ। आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार सुरुआतमा असोज मसान्तमै सञ्चालन गर्ने योजना भए पनि मौसम प्रतिकूल हुँदा निर्माण सामग्री केरुङ नाकामा रोकिएपछि काम प्रभावित भएको थियो। त्यसपछि समयतालिका एक महिना सारेर कात्तिक मसान्तसम्म सञ्चालन गर्ने तयारी गरिएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डको दोभान–सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको हो। २०७८ साल फागुनमा ठेक्का सम्झौता भए पनि निर्माण कार्य भने २०७९ सालको अन्त्यतिर मात्रै सुरु भएको थियो।

२०८१ माघ ११ गते सुरूङको ‘ब्रेकथ्रु’ सम्पन्न हुँदा आयोजनाको करिब ४० प्रतिशत काम सकिएको थियो। निर्माण कम्पनीसँग भएको प्रारम्भिक सम्झौताअनुसार २०८३ साल चैत मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा निर्माण पूरा हुन नसक्ने देखिएपछि कम्पनीको आग्रहमा १५ महिना म्याद थप गरिएको छ। अब सन् २०२८ को जुन महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले मुख्य सुरूङको सिभिल संरचना पूरा गरिसकेको छ। अहिले विद्युतीकरण, प्रवेशद्वार निर्माण तथा अन्य फिनिसिङका काम भइरहेको छ।

आयोजनाका अनुसार सुरूङमार्गबाट सवारी सञ्चालन सुरु भएपछि बाहिरी जोखिमयुक्त सडकको स्तरोन्नति, बाइपास सुरूङ, रक नेट, रक सेड तथा स्लोप संरक्षणका काम अघि बढाइनेछ। सम्झौताअनुसार दुवैतर्फका जोखिमयुक्त करिब ७८० मिटर सडकलाई डबल लेन बनाउने, बाइपास सडक निर्माण गर्ने तथा आधुनिक प्रविधिबाट करिब ३.५ किलोमिटर सडक सुरक्षित बनाइनेछ।

सुरूङ सञ्चालनमा आएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा पैदल यात्रुका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइनेछ। साथै खानेपानी व्यवस्थापन र आकस्मिक अवस्थाका लागि तीन वटा बाइपास सुरूङ समेत निर्माण गरिएको छ।

दुवैतर्फको रिबसहित १ हजार १२६ मिटर लामो सिद्धबाबा सुरूङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।

सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिने सिद्धबाबामा सुरूङमार्ग सञ्चालनमा आएपछि तराई र पहाडबीचको यात्रा थप सुरक्षित, सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ। यसबाट विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु