विराटनगर । दुई समूहबीच भएको झडपपछि सुनसरी जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी जिल्लाका पाँच प्रमुख बजार क्षेत्रलाई कर्फ्युको दायरामा राखिएको हो। सुरक्षा अवस्था सामान्य बनाउन र सम्भावित थप अप्रिय घटना रोक्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यु लागू गरिएका क्षेत्रमध्ये हरिनगर बजार पनि एक हो। यस क्षेत्रमा पूर्वतर्फ नुनियतोल, पश्चिमतर्फ पश्चिम खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्मको क्षेत्र समेटिएको छ।
यस्तै, भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यु लागू गरिएको छ।
त्यसैगरी घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्मको क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ।
प्रशासनले देवानगञ्ज बजार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ। यहाँ पूर्वमा विराटनगर जाने बाटोस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा समेटिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको हो। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।



