काठमाडौं उपत्यकामा बर्डफ्लू संक्रमण तीव्र, तीन महिनामा ११ जिल्लाका ८२ स्थान प्रभावित

काठमाडौं । पछिल्लो तीन महिनायता काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लू (एच–फाइभ एन–वान) संक्रमण तीव्र रूपमा फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।

विभागका अनुसार २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लू पुष्टि भएको थियो। त्यसयता संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको छ।

पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको जानकारी दिए। त्यस्तै, नौ लाख ८९ हजार ३१३ वटा अण्डा तथा एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले बताए।

संक्रमण नियन्त्रण तथा निगरानीलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ। संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी प्रभावित क्षेत्रमा प्राविधिक टोलीसमेत परिचालन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा र सुनसरीसँगै बारा, महोत्तरी, चितवन तथा नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा अझै संक्रमण देखिएकाले ती स्थानमा निगरानी र सतर्कता बढाइएको छ।

संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण (जिनोम सिक्वेन्सिङ) प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ।

विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ। पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरेपछि मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली र घरपालुवा पन्छीबीचको सम्पर्क रोक्न विभागले सुझाव दिएको छ।

यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।—000–

Share:

सम्बन्धित समाचारहरु