जिल्ला अदालत रूपन्देहीमा हाजिर हुँदै रवि लामिछाने

काठमाडौं, ९ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा हाजिर हुने भएका छन् । यसका लागि रवि मंगलबार नै भैरहवा पुगिसकेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि उनी जिल्ला अदालत रूपन्देहीमा हाजिर हुने भएका हुन् ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको छ ।

यसअघि सहकारी ठगी आरोपमा कास्की र काठमाडौं जिल्ला अदालतबाट लामिछाने क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

Share:

सम्बन्धित समाचारहरु