संघीयता र प्राप्त उपलब्धि जोगाउन पत्रकारको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

सिमरा, बारा । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी व्यवस्थाको संरक्षणका लागि पत्रकारहरूले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले सिमरामा आयोजना गरेको आदिवासी जनजाति सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिसम्बन्धी एकदिने तालिमको उद्घाटन गर्दै मन्त्री चौधरीले प्राप्त उपलब्धिहरूको रक्षा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

“यो व्यवस्था ल्याउन धेरैले शहादत प्राप्त गरेका छन्,” मन्त्री चौधरीले भने, “विगतमा आफ्नो पहिचान लुकाएर हिँड्नुपर्ने अवस्था थियो। आज मधेशका छोरीचेलीहरू पत्रकारितामा सक्रिय रूपमा देखिनु खुशीको विषय हो।”

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले संघीयतालाई बलियो बनाउन सञ्चारकर्मीहरूले सशक्त रूपमा कलम चलाउनुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सम्पन्न महाधिवेशनले प्रदेशसभा खारेजीको रणनीति पारित गरेको उल्लेख गर्दै उनले संघीयतामाथि चुनौती देखिएको दाबी गरे।

उनले सरकारी सञ्चार माध्यममा मात्रै सरकारी विज्ञापन दिने निर्णयप्रति असहमति जनाउँदै निजी सञ्चार माध्यमलाई पनि समान रूपमा विज्ञापन उपलब्ध गराउन मधेश प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरे।

फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले सरकारी सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको मात्रै क्षमता विकास गरेर पत्रकारिताको समग्र विकास सम्भव नहुने बताए। आदिवासी जनजाति पत्रकारहरूलाई पनि राज्यका अवसर र कार्यक्रमहरूमा समान पहुँच दिनुपर्नेमा उनले जोड दिए।

नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष निमा लामा ह्योल्मोले आदिवासी जनजातिका मुद्दालाई स्थापित गर्न पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै संघीयता, समावेशिता र पहिचानका सवालमा थप सशक्त ढंगले कलम चलाउनुपर्ने बताए।

कार्यक्रमको सुरुवातमा फोनिज मधेश प्रदेशकी उपाध्यक्ष पार्वती सिंह (प्रिया) थारूले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। फोनिजका संघीय महासचिव समीर बलामीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै आदिवासी जनजातिका मुद्दा र पत्रकारहरूले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए।

कार्यक्रममा आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष निमा लामा ह्योल्मो, महासंघका संघीय उपाध्यक्ष अमृत सुनार, मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी आदिवासी जनजाति सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त एकदिने तालिममा आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसीप, ऐजेन्डा लगायतका विषयमा समाचार लेखन र प्रस्तावना लेखन, प्रतिवेदन लेखनको विषयमा तालिम प्रदान गरिएको थियो ।

फोनिजका संघीय समिति सल्लाहकार अमरध्वज लामा र फाोनिजका संघीय अध्यक्ष लक्की चौधरीले प्रशिक्षण दिएका थिए ।

।–00–

Share:

सम्बन्धित समाचारहरु