३ हजार प्रतिनिधिले मतदान गर्ने

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मत हाल्न मिल्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र तस्वीरमा स्पर्श गरेर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको रास्वपा निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा पार्टी सभापतिसहित ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। यस चरणको मतदान सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ।

निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ। असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु गरी सोही साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी गरिएको छ।

पहिलो चरणको निर्वाचन असार ८ गते रातिसम्म सम्पन्न भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान असार ९ गते गरिने निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनमा करिब ३ हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। विदेशमा रहेका तर महाधिवेशनमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि रास्वपाले आफ्नै मोबाइल एपमार्फत मतदानको व्यवस्था मिलाएको छ। विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले अनलाइन माध्यमबाट मतदान गर्न पाउनेछन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन्। निर्वाचन आयोगका पदाधिकारीहरूले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ। प्रमुख केसीले आयोगले निष्पक्ष र तटस्थ रूपमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। –00—

फाईल तस्विर

Share:

सम्बन्धित समाचारहरु