सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त सुमन तामाङ ७ वर्षपछि पक्राउ, पुर्पक्षका लागि जेल चलान

चितवन । प्रहरीको भेषमा आएर महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरेको मुद्दामा साढे सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको विशेष टोलीले कालिका नगरपालिका वडा नं. ७ बस्ने ‘सुमन दोङ’ भनिने सुमन तामाङलाई जेठ २२ गते पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई जिल्ला अदालत चितवनको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

के थियो घटना ?
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटना २०७५ साल असार ७ गते रातिको हो। राति अन्दाजी २:०० बजेको समयमा मोटरसाइकलमा आएका दुई जना पुरुषले पीडित महिलाको घरमा प्रवेश गरी आफूहरू “टाँडी प्रहरीबाट आएका सीआईडी (CID) हौँ” भन्दै डर देखाएका थिए।

केही जरुरी कुरा बुझ्नु छ भन्दै उनीहरूले महिला र उनका नाबालक छोरालाई समेत बलपूर्वक मोटरसाइकलमा चढाएका थिए। प्रहरी कार्यालय लैजाने बहानामा उनीहरूलाई सिधै जङ्गलतर्फ लगेर डर-त्रास देखाई दुवै जनाले सामूहिक जबरजस्ती करणी (बलात्कार) गरेका थिए। घटनापछि दुवै अभियुक्त फरार भएका थिए।

सह-अभियुक्तलाई १९ वर्ष कैद, तामाङ ७ वर्षपछि फन्दामा –
उक्त जघन्य अपराधमा संलग्न अर्का अभियुक्त, कालिका नगरपालिका वडा नं. ३ बस्ने प्रितम थिङ यसअघि नै पक्राउ परिसकेका छन्। उनलाई चितवन जिल्ला अदालतले दोषी ठहर गर्दै १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ र उनी हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन्।

घटनालगत्तै फरार भएका दोस्रो अभियुक्त सुमन तामाङलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। लुकिछिपी बसिरहेको अवस्थामा जेठ २२ गते फेला पारी प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो।

अदालतको जेठ २६ गतेको आदेश अनुसार उनलाई थप कानुनी प्रक्रिया र पुर्पक्षका लागि कारागार कार्यालय चितवन पठाइएको निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभएको छ। —00—

Share:

सम्बन्धित समाचारहरु