चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, आज बेइजिङ पुगे

काठमाडौं ,३१ जेठ । — परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चारदिने चीन भ्रमणका लागि बेइजिङ पुगेका छन्। उनी गएराति नेपालबाट चीनतर्फ प्रस्थान गरेका थिए।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आइतबार अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गरेको छ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैगरी, उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनका क्रममा उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको दूतावासले जनाएको छ। —00—

Share:

सम्बन्धित समाचारहरु