चितवन । जिल्ला अनुगमन समितिको निर्देशन अवज्ञा गर्दै खगेरी खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले २० वटा टिपर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा रहेको अनुगमन समितिले बुधबार खगेरी खोला क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा सम्झौताअनुसार उत्खनन गर्न अनुमति दिइएको परिमाणभन्दा बढी सामग्री निकालिएको हुनसक्ने प्रारम्भिक निष्कर्षसहित तत्कालका लागि खोलाजन्य पदार्थको उत्खनन तथा ढुवानी रोक्न निर्देशन दिइएको थियो।

तर समितिको निर्देशनलाई बेवास्ता गर्दै केही व्यवसायी तथा सवारी चालकहरूले खगेरी खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन तथा ढुवानी कार्यलाई निरन्तरता दिएको पाइएको हो। त्यसपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले विशेष निगरानी बढाएको थियो ।

प्रहरीका अनुसार निर्देशनविपरीत सामग्री ओसारपसार गरिरहेका २० वटा टिपरलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन पदमपुर प्रहरी बिटमा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको उत्खनन गर्दा स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा सम्झौताका शर्तहरूको पूर्ण पालना हुनुपर्ने बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहाव, जैविक विविधता तथा आसपासका बस्तीमा असर पर्ने गरी जथाभावी उत्खनन गर्न नदिइने स्पष्ट पार्नुभयो।
खगेरी खोला क्षेत्रबाट निर्धारित परिमाणभन्दा बढी ढुंगा, गिट्टी तथा बालुवा निकालिएको हुनसक्ने विषयमा थप अध्ययन भइरहेको जनाइएको छ। अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

स्थानीयवासीहरूले पनि पछिल्लो समय खगेरी खोलामा अत्यधिक उत्खननका कारण नदीको स्वरूप परिवर्तन हुन थालेको, कटानको जोखिम बढेको तथा वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पर्न थालेको गुनासो गर्दै आएका छन्। उनीहरूले प्रशासनको अनुगमनलाई प्रभावकारी बनाउँदै अवैध उत्खननमा संलग्न व्यक्ति तथा कम्पनीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीसम्बन्धी नियम उल्लंघन गर्ने जोसुकैमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, अनुगमन समितिको निर्देशनविपरीत कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। –000–


