सन्तकुमार चौधरी-
माडी । गणतन्त्र दिवसको अवसर पारेर चितवनको माडी मा “मौलिक सांस्कृतिक उत्सव–२०८३” सुरु भएको छ । माडीको बसन्तपुर बजारस्थित खुला चौरमा आयोजित उत्सवको उद्घाटन माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतो ले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महतोले माडी नगरपालिकालाई “सिकाइ केन्द्र” का रूपमा विकास गर्ने परिकल्पना अघि बढाइएको बताउनुभयो । गणतन्त्र दिवसको अवसरमा विभिन्न जातजातिका मौलिक संस्कृति, संस्कार तथा परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।
उहाँले नेपाली समाजले मनाउँदै आएका चाडपर्व, संस्कार र सांस्कृतिक परम्पराहरू पुस्तान्तरण हुन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उत्सव माडी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटाले माडीको सांस्कृतिक एकतालाई सुदृढ बनाउन यस्ता गतिविधि महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले माडीलाई राजनीतिक, भौगोलिक तथा जातीय विविधताले भरिएको खुला सांस्कृतिक संग्रहालयको संज्ञा दिँदै यहाँका विभिन्न समुदायका मौलिक परम्परा, धर्म, संस्कार र जीवनशैलीले माडीको पहिचानलाई अझ समृद्ध बनाएको उल्लेख गर्नुभयो । “माडीको मौलिकतालाई जीवित राख्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा मन्तव्यभन्दा पनि सांस्कृतिक प्रस्तुतीलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेश सांसद ठाकुर ढकाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, आमा समूह, आदिवासी जनजाति महासंघका प्रतिनिधि तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ का सभापतिसहित थारु समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
उत्सवमा स्थानीय कलाकार रामप्रसाद सुवेदीले ब्राह्मण–क्षेत्री समुदायको परम्परागत “शंकनाथ” प्रस्तुति गर्नुभएको थियो । साथै स्वस्तिक वाचनसँगै विभिन्न जातीय सांस्कृतिक नृत्य तथा झाँकीहरू प्रदर्शन गरिएका थिए । कार्यक्रम परिसरमा विभिन्न समुदायका मौलिक खानाका स्टलहरू समेत राखिएका छन् । उद्घाटनअघि विभिन्न जातीय भेषभूषासहित निकालिएको भव्य शोभायात्राले बसन्तपुर बजार परिक्रमा गरेको थियो ।
गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस सांस्कृतिक उत्सवले माडीको बहुसांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै स्थानीय कला, संस्कार र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रम जारी छ । विभिन्न जातिजातिको मौलिक पहिचान झल्किने प्रस्तुतीसँगै विद्यार्थीहरुले समेत आ आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् ।
–00—


