भरतपुरमा थारु समुदाय लक्षित नीति तथा कार्यक्रमको समीक्षा सुरु

चितवन, ४ जेठ । चितवनको भरतपुरमा थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षा कार्यक्रम सुरु भएको छ। थारु आयोगको आयोजनामा सो कार्यक्रम सुरु भएको हो।

प्रदेश तथा स्थानीय तहले नीति, कार्यक्रम र बजेटमा थारु समुदायका लागि समेटेका योजनाहरू र तिनको कार्यान्वयनको वर्तमान अवस्थाबारे समीक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोगले जनाएको छ।

थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको छ।

चितवन र नवलपुरका थारु अगुवाहरूको समेत उल्लेख्य सहभागिता रहेको समीक्षा कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेशका पूर्व वन मन्त्री कृष्णप्रसाद सिलवाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो र कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी सहभागी हुनुहुन्छ।

यस्तै, नवलपुरको कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेत र मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीको पनि कार्यक्रममा सहभागिता रहेको छ।

कार्यक्रममा थारु आयोगका सचिव रुद्रप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने आयोगका कार्यवाहक अध्यक्ष भोलाराम चौधरीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

यसैगरी, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले थारु समुदायका लागि बनाएको नीति तथा कार्यक्रमबारे मन्त्रालयका प्रतिनिधि रुद्र शर्माले स्पष्ट पार्नुभएको थियो।

कार्यक्रममा अधिवक्ता संजय चौधरीले प्रदेश तथा चितवन र नवलपुरका स्थानीय तहको नीति तथा कार्यक्रममा थारु समुदायका लागि बनाइएका योजना र विनियोजित बजेटको अवस्थाबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो कार्यपत्रमाथि सहभागी थारु अगुवाहरूले छलफल गरिरहेका छन्।—00—

Share:

सम्बन्धित समाचारहरु