बाराको ३ नम्बर पुल क्षेत्रको बस्ती हटाउन बन कार्यालयले चलायो डोजर, व्यवसायी आक्रोशित

बारा । डिभिजन वन कार्यालय बारा ले शुक्रबार बिहान ३ नम्बर पुल नजिकको बस्ती डोजर चलाएर हटाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा बस्ती खाली गराइएको हो ।

वन कार्यालयका प्रमुख सुजित कुमार झाले वन तथा निकुञ्ज क्षेत्रभित्र बस्ती रहेकाले हटाउनुपरेको बताएका छन् ।

स्थानीय व्यवसायीहरूले भने पर्याप्त समय नदिई डोजर चलाएर राज्यले दमन गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सडक क्षेत्रभित्रका संरचना यसअघि नै हटाइसकिएको थियो । त्रिभुवन राजमार्गको हेटौंडा–पथलैया खण्डमा पर्ने ३ नम्बर पुल क्षेत्र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित थियो । यहाँ ७० भन्दा बढी होटल तथा व्यवसाय सञ्चालनमा रहेका थिए ।

वन कार्यालयले भने पटकपटक सूचना र माइकिङ गर्दा पनि अटेर गरेपछि डोजर चलाउनुपरेको जनाएको छ ।–00—

Share:

सम्बन्धित समाचारहरु