काठमाडौं । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा चिया क्षेत्रको प्रवर्द्धन र विस्तारका लागि आगामी वर्ष विशेष पहल गरिने बताउनुभएको छ। उहाँले चियामा लगानी बढाउने, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने र विशेषगरी युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो।
३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले चिया नेपालको प्रमुख निर्यातजन्य कृषि बालीमध्ये एक भएको उल्लेख गर्नुभयो। प्रत्येक वर्ष वैशाख १५ गते मनाइने यस दिवसले चिया क्षेत्रको महत्व उजागर गर्दै आएको छ।
हाल देशका ३१ जिल्लामा चिया खेती विस्तार भइसकेको छ भने १५ हजारभन्दा बढी कृषक यस व्यवसायमा आबद्ध छन्। त्यस्तै १७१ वटा टी–स्टेट र साना तथा मझौला गरी १२० वटा प्रशोधन केन्द्रमार्फत करिब ६० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
मन्त्री चौधरीका अनुसार नेपालले वार्षिक करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसले बढ्दो व्यापार घाटा न्यूनीकरणमा समेत टेवा पुर्याइरहेको छ।
उहाँले विभिन्न चुनौतीका बाबजुद पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी तथा व्यवसायीहरूको संयुक्त प्रयासका कारण नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बलियो बनाएको बताउनुभयो। आगामी दिनमा सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच सहकार्य बढाउँदै चिया क्षेत्रलाई अझ सुदृढ बनाइने उहाँको भनाइ छ। —00—


