काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई ध्यानाकर्षण गराएको छ ।
मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुमबासी बस्तीलाई जबरजस्ती विस्थापन गर्ने सरकारको तयारीप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले जबरजस्ती उठीबाससम्बन्धी सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउनुपर्ने, गलत प्रमाणीकरण तथा व्यवस्थापन सच्याउनुपर्ने माग राखेका छन् ।
त्यसैगरी, सरकारको १०० दिने कार्यसूचीअन्तर्गतको ९१औँ बुँदाअनुसार प्रक्रिया अवलम्बन गर्न तथा भूमि र आवासको अधिकारलाई नागरिकको संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
यसैबीच, बालेन शाह को निर्देशनमा भोलिदेखि सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी भइरहेको बताइएको छ । यस कदमले सुकुमबासी समुदायमा त्रास र आक्रोश बढाएको छ ।
मोर्चाले वार्तामार्फत समाधान खोज्न सरकारलाई आग्रह गर्दै कुनै पनि बलपूर्वक कदम नचाल्न चेतावनी दिएको छ ।


