विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध महानगरको अभियान सुरु

विराटनगर, ११ वैशाख । विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहानदेखि उपप्रमुख शिल्पा निरला कार्की को नेतृत्वमा खटिएको टोलीले फुटपाथ खाली गराउने कार्य अघि बढाएको हो।

महानगरले यसअघि दुई दिनसम्म माइकिङ गरेर व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराएको थियो। चेतावनीपछि पनि अटेर गरेकाहरूको सामग्री हटाउन शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त टोली परिचालन गरिएको छ।

अभियानअन्तर्गत सडकपेटीमा राखिएका पसलका सामान, निर्माण सामग्री, मोटरसाइकल ग्यारेजका उपकरण तथा मापदण्डविपरीत सञ्चालन भएका कवाडी व्यवसाय हटाइँदै छन्। महानगरपालिकाले सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न स्पष्ट निर्देशन दिएको छ।

महानगरले पैदल यात्रुका लागि फुटपाथ व्यवस्थित र सुरक्षित बनाउन यस्तो अभियान सुरु गरिएको जनाएको छ। साथै नियम उल्लंघन गर्नेलाई आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु