काठमाडौं । न त समयको सीमा, न त विश्रामको सुनिश्चितता—जब जिम्मेवारी जनताको सुरक्षासँग जोडिन्छ, त्यहाँ थकान पनि कहिलेकाहीँ मन्त्रालयकै सोफामा विसर्जित हुन्छ। यही यथार्थ झल्काउने एउटा दृश्य सार्वजनिक भएको छ, जहाँ गृहमन्त्री सुधन गुरुङ सिरक ओढेर मन्त्रालयकै सोफामा निदाएको अवस्थामा देखिएका छन्।
उक्त तस्वीर गृहमन्त्रीको सचिवालयले सार्वजनिक गरेको हो। सचिवालयका एक सदस्यका अनुसार निरन्तर २४ घण्टासम्म काममा खटिनुपरेपछि मन्त्री गुरुङले कार्यालयमै केही समय विश्राम लिन बाध्य भएका थिए।
गृहमन्त्री गुरुङ अघिल्लो रात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा व्यस्त थिए। निरन्तरको दौडधुप र जिम्मेवारीबीच उनले मन्त्रालयमै आराम गर्नुपरेको सचिवालयले जनाएको छ।
आफ्नो थकानलाई समेत जनतासँग साट्न खोजेजस्तै गरी मन्त्री गुरुङले सोही तस्वीर सामाजिक सञ्जालमा पनि साझा गरेका छन्। तस्वीरसँगै उनले लेखेका छन्— “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।”
यो दृश्यले केवल एक मन्त्रीको विश्राम मात्र होइन, सार्वजनिक सेवामा खटिएका नेतृत्वको दबाब, दायित्व र समर्पणको एउटा भावनात्मक झलक प्रस्तुत गरेको छ।–00—


