चितवन, १५ चैत ।
चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदीमा पौडी खेल्ने क्रममा दुई जना विद्यार्थी बेपत्ता भएका छन्।
आज दिउँसो करिब १२:५० बजे भरतपुर महानगरपालिका–३ बाह्रघरेचोकदेखि करिब ८०० मिटर पश्चिमतर्फ नारायणी नदी किनारको जमेको घोलमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ शरणपुर घर भएका करिब १३/१४ वर्षीय सनम रम्तेल र सोही उमेरका प्रशान्त क्षेत्री रहेका छन्। दुवै जना बाह्रघरेस्थित मुन लाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्।
घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक कुशराम कार्कीको कमाण्डमा विपद् व्यवस्थापनसहितको प्रहरी टोली खटिएको छ। हाल उक्त क्षेत्रमा व्यापक रूपमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थल वडा प्रहरी कार्यालय नारायणगढबाट करिब ६/७ किलोमिटर दक्षिणमा पर्दछ।
प्रहरीले नदी तथा खोलामा पौडी खेल्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।–00–


