खिचरा महोत्सवको ११औं संस्करण पुस २९ देखि माघ १० सम्म

-कारी महतो
पुस २९, चितवन । हरेक वर्ष खिचरा पर्वको अवसरमा आयोजना हुने खिचरा महोत्सवको ११औं संस्करण यसवर्ष पुस २९ देखि माघ १० गतेसम्म हुने भएको छ । सुर्ताना स्कुलको चौरबाट शुरु भएको महोत्सव खैरहनी माविको चौर हँदै खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा हुनेछ । आज भएको पत्रकार सम्मेलन मार्फत मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनु भयो ।
महोत्सवको प्रमुख उद्देश्य थारु कलासँस्कृतिको संरक्षण तथा थारु खानाका परिकारहरुको प्रवद्र्धन गर्नु हो । महोत्सव अवधिभर हरेकदिन थारु साँस्कृतिक कार्यक्रमलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं । महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महोत्सवमा सर्वसाधारण सबैको पहुँच बढाउनका लागि हरेकदिन १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । दिउँसो १ बजेपछि आउने अवलोकनकर्ताहरुले रु १०० को टिकट लाग्ने तथा विद्यार्थी सहुलियतका लागि रु ७० को टिकट लाग्ने जनाइएको छ । थप सुविधा लिन चाहने दर्शकहरुले ऐच्छिक रुपमा रु. २०० को विशिष्ट टिकट लिन सक्ने जनाइएको छ । जेष्ठ नागरिक र अपाङ्गहरुलाई पूर्ण रुपमा निःशुल्क प्रवेश गराइनेछ । पार्किङ पूर्णरुपमा निःशुल्क हुनेछ ।

‘‘राष्ट्रिय एकता र विविधता हाम्रो शान ! बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान !!” मूल नाराका साथ महोत्सव लाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि ३५१ सदस्यीय मूल आयोजक समिति र १५ वटा विषयगत समितिहरु गठन गरिएको छ । खैरहनी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष मनेजर महतो, वडा नं. ९ का वडाअध्यक्ष बन्धुराम महतो र वडा नं. १० का वडाअध्यक्ष चन्द्रविक्रम चौधरी तीनैजना महोत्सवको सह–संयोजकका रुपमा रहनुभएका छन् ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादिन वस्तुको प्रवद्र्धन गराउन १५० वटा स्टल रहनेछ । थारु जातिका लगायत विभिन्न जातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा होटल स्टल रहने जनाइएको छ । महोत्वलाई थप आकर्षक बनाउनका लागि यसवर्ष महोत्सव परिसरमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा निर्माण गरिने र ओपेरा हाउस निर्माण गरिने भएको छ । प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको सम्पूर्ण आयोजना तथा व्यवस्थापन खैरहनी नगरपालिकाबाट गरिने भएको छ ।

महोत्सवको संरक्षक खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा, चितवन संरक्षकको रुपमा रहेको छ । महोत्सवको प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.लि. कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सह–प्रायोजकको रुपमा रहेका छन् ।
महोत्सव थारु कल्याणकारिणी सभा, क्षेत्र नं. ७, चितवनले आयोजना गरेको हो । –00–

Share:

सम्बन्धित समाचारहरु