चितवन उद्योग वाणिज्य संघको निर्वाचन : भीड, उत्साह र रातभर चलेको मतगणनाको यात्रा

– रेशम सापकोटा
चितवन ।  चितवन उद्योग वाणिज्य सङ्घको ५९औँ साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार सम्पन्न निर्वाचनले बिहानदेखि रातिसम्म नारायणगढको उद्योग वाणिज्य संघ परिसरलाई व्यवसायिक र सामाजिक गतिविधिको केन्द्र बनायो। मिति २०८२ साल पौष २१ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो। मतदानको दिन बिहानैदेखि संघ परिसर वरिपरि सुरक्षा कडा पारिएको थियो। प्रहरीको उपस्थितिले मतदान स्थलको सुरक्षामा विश्वास दिलाए पनि, भीडका कारण व्यवस्थापन चुनौतीपूर्ण देखिन्थ्यो।

मतदान सुरु भएको पहिलो बिहानदेखि नै संघ परिसर प्लेकार्ड, उम्मेदवारका फोटो टाँसिएका ब्यानर, माला र क्रमसंख्या अंकित कागज बोकेका उम्मेदवार तथा समर्थकहरूले भरिन थाले। उनीहरू आफ्ना उम्मेदवारको नाम लेखिएको कागज बोकेर मतदातासँग संवाद गर्न व्यस्त देखिन्थे। व्यवसायीहरूले खुलेर नारा लगाउँदै, आफ्ना मनपर्ने उम्मेदवारको पक्षमा समर्थन देखाएका थिए। उपस्थितले उत्साहपूर्ण प्रदर्शन र सहभागिता पनि जनाएका थिए। बिहान ८ बजेदेखि ११ बजेसम्म मतदान स्थल केही खुला र व्यवस्थित देखियो, तर त्यसपछि मतदाताको भीड तीव्र रूपमा बढ्दै गयो।

पुल्चोकदेखि लिलाचोकसम्मका सडकहरू सवारीसाधनले भरिएका थिए, बजारका पसलहरू सोमबार बन्द रहे। मतदाता व्यवसायीहरू बिहानदेखि नै निर्वाचन स्थलतर्फ आए। मतदान स्थलभित्र दुई प्यानलका उम्मेदवारहरू फरक–फरक लाइनमा बसेर मतदातासँग मत मागिरहेका थिए। मतदाता र उम्मेदवारबीच संवाद, कुराकानी र मत माग्ने प्रक्रिया चलिरहँदा स्थलमा भारी भिडको दृश्य देखिन्थ्यो। केही ठाउँ खुला राखेर वातावरण शान्त बनाउने प्रयास भए पनि गेटै छेउमा मतदाताको उपस्थिति तीव्र देखिन्थ्यो।

मतदान प्रक्रिया साँझ ८ बजेसम्म चल्यो। मतदाता उत्साहका साथ लाइनमा उभिएर मतदान गरिरहे। निर्वाचन मण्डल र उम्मेदवार बीच छलफल पछि करिब राति १० बजे मतगणना सुरु गरियो। सुरुमा नै वस्तुगततर्फ नवराज सुवेदी, लोकनाथ भट्ट, बुद्धिसागर कँडेल र सुरेशकुमार गुप्ता विजयी भएको घोषणा भयो। नतिजा सुन्न उम्मेदवार, समर्थक र आफन्तहरू रातभर संघ परिसर वरिपरि बसेका थिए। मतगणनाको क्रममा सञ्चारकर्मीहरूलाई प्रवेश गर्न प्रहरीले रोक लगायो। “माथिको आदेश” भन्दै गेटमा रहेका प्रहरीहरूले पत्रकारहरूलाई भित्र पस्न दिएनन्। उज्यालो नेपालका अध्यक्ष गोविन्द घिमिरेले – वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षकलाई पटक–पटक फोन गरे, मैले पनि दुईपटक सम्पर्क गर्दा फोन उठेन।

गेटमा रहेका प्रहरीले सञ्चारकर्मीसँग संवाद गर्नसमेत चाहेनन्। स्वतन्त्र रूपमा समाचार संकलन र मतगणनाको अपडेट दिन नपाइएपछि केहीबेर गेटमै आक्रोश देखियो। चिसो बढ्दै गएपछि सञ्चारकर्मीहरू राति करिब १२:३० बजे घर फर्किएका थिए, जब मतगणना अझै जारी नै थियो। बिहान प्रहरीले पत्रकारलाई प्रवेश गर्न अनुमति दियो।

मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष पदमा चिरञ्जीवी सुवेदी १,४८४ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी शिरीष पन्तले १,१८५ मत प्राप्त गरे। मत अन्तर २९९ रह्यो। कुल मतदाता संख्या ३,३७१ रहेकोमा २,७१९ मत खसेको थियो।

अन्य नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिमा-
वरिष्ठ उपाध्यक्ष: राजेन्द्र ओली, उपाध्यक्षहरू: नारायण प्रधान, राजन पिया र जनक पौडेल,शंकर अधिकारी, उपेन्द्र पण्डित, सन्तोष देवकोटा, कृष्णकुमार महतो, इमान्दु बराल, अशोक श्रेष्ठ, अस्मिता तिमल्सिना, विष्णु लम्साल, गौरव श्रेष्ठ, प्रविन आचार्य, कृष्ण लम्साल, नरेश खनाल, नवराज सुवेदी, लोकनाथ भट्ट, बुद्धिसागर कँडेल, सुरेशकुमार गुप्ता र सुनिता लिगल कर्माचार्य बिजय हुनु भएको थियो ।

मतगणना सकिएपछि उद्योग वाणिज्य सङ्घ वरिपरिका सडकहरू पोस्टर, पम्प्लेट र कागजपत्रले भरिएका थिए। नतिजा कुर्दै बाहिर बसेका व्यवसायीहरूले ती कागजहरू संकलन गरेर राति नै आगो बाल्दै बसेका थिए । यो निर्वाचनले चितवनका व्यवसायीहरूको सक्रियता, संगठनप्रतिको गहिरो चासो र लोकतान्त्रिक अभ्यास देखाएको छ। तर व्यवस्थापन, सरसफाइ र सञ्चार स्वतन्त्रताको सवालमा सुधार आवश्यक रहेको सन्देश पनि दिएको छ। अब नवनिर्वाचित नेतृत्वबाट व्यवसायिक हक–हितको संरक्षण, पारदर्शिता र संस्थागत अनुशासनमा प्रभावकारी काम हुने अपेक्षा व्यवसायीहरूले गरेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु