-रेशम सापकोटा
चितवन । उद्योग वाणिज्य संघ चितवनको आगामी पुस २१ गते हुने निर्वाचनले जिल्लाको व्यावसायिक वृत्तमा ठूलो तरंग ल्याएको छ। २५ सदस्यीय कार्यसमितिका लागि ४१ जनाको उम्मेदवारी परेकामा भोलि सबै उम्मेदवारका लागि मनोनयन दर्ताको अन्तिम दिन रहेको छ। भोलि मनोनयन पछि अध्यक्षदेखि कार्यसमिति सदस्यसम्मको अन्तिम सूची सार्वजनिक हुनेछ र त्यससँगै चुनावी प्रतिस्पर्धा थप स्पष्ट र तीव्र हुने छ।
अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र युवा व्यवसायी शिरिष पन्तबीच मुख्य भिडन्त हुने देखिएको छ। संघमा लामो समयदेखि वरिष्ठ उपाध्यक्षलाई क्रमशः अध्यक्षमा अघि बढाउने संस्थागत अभ्यास रहँदै आएको छ, जसका कारण सुवेदी यसपटक स्वाभाविक दावेदारका रूपमा प्रस्तुत भएका छन्। यही संस्थागत परम्परालाई तोड्दै शिरिष पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् र भोली औपचारिक रूपमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय शिरिष पन्त चितवनका युवा व्यवसायीहरूबीच लोकप्रिय व्यक्तित्वका रूपमा उभिएका छन्। उनी विभिन्न संघ–संस्थामा सक्रिय रूपमा आबद्ध छन् र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् राहत र सामुदायिक सेवाजस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका व्यक्ति हुन्। व्यापारिक क्षेत्रमा मात्र होइन, सामाजिक काममार्फत समाजसँग जोडिएको नेतृत्वको छवि पन्तले निर्माण गरेका छन्, जसका कारण उनी युवापुस्तामाझ आशाको प्रतिनिधि मानिन थालेका छन्।
पन्तको उम्मेदवारी वर्तमान बजार अवस्थाप्रतिको असन्तुष्टिको अभिव्यक्तिका रूपमा पनि हेरिएको छ। चितवनको मुख्य बजार क्षेत्रमा पार्किङको गम्भीर अभाव, अस्तव्यस्त व्यापारिक वातावरण, घट्दो ग्राहक चहलपहल र बढ्दो लागतका कारण धेरै युवा व्यवसायी व्यवसाय नै छोड्न बाध्य भइरहेका छन्। यही पीडालाई मुद्दा बनाउँदै पन्तले संघले अब नीतिगत छलफलमा मात्र सीमित नभई बजारमै देखिने व्यावहारिक हस्तक्षेप गर्नुपर्ने धारणा राख्दै आएका छन्। यही कारण धेरै युवा व्यवसायीहरू उनको अभियानमा आकर्षित हुँदै गएका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओली र लोबहादुर रानाभाटबीच प्रतिस्पर्धा हुनेछ। उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र जनक पौडेल तथा वाणिज्यतर्फको उपाध्यक्षमा गुणराज पौडेल र नारायण प्रधान उम्मेदवार बनेका छन्। वस्तुगततर्फको उपाध्यक्ष पदमा राजन पिया, लिलबहादुर क्षेत्री र शंकर अधिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ। कार्यसमिति सदस्य पदतर्फ पनि प्रतिस्पर्धा तीव्र देखिएको छ। महिला सदस्य पदमा बिन्जु राज कर्णिकार श्रेष्ठ र सुनिता लिगल कर्मचारीबीच चुनावी भिडन्त हुनेछ। कर्पोरेटतर्फ अशोक लामिछाने र अमित कौडाल तथा क्षेत्रीय संघतर्फ रेशम आचार्य (तुलसी) मात्र उम्मेदवार रहेकाले उनीहरू निर्विरोध निर्वाचित भएका छन्।
उद्योगतर्फका कार्यसमिति सदस्यमा अनिल अधिकारी, अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, कृष्णकुमार महतो, शंकर अधिकारी, सन्तोष देवकोटा र हेमराज सिग्देल (हरी) उम्मेदवार बनेका छन्। वाणिज्यतर्फ अस्मिता तिमल्सिना, गौरव श्रेष्ठ, विष्णु लम्साल, दीपक काफ्ले, नरेश खनाल, नवराज कंडेल, प्रविन आचार्य, मुकुन्दप्रसाद गौतम, राजेन्द्र चापागाई र श्रीकृष्ण लम्सालको उम्मेदवारी परेको छ। वस्तुगततर्फ आरती गोपालमूर्ति साह, कमलप्रसाद उपाध्याय, नवराज सुवेदी, निर्मल पौडेल, बुद्धिसागर कँडेल, लोकनाथ भट्ट (कृष्ण) र सुरेश गुप्ताले मनोनयन दर्ता गराएका छन्।
संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ, जसमा पाँच पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना, वस्तुगततर्फ चार जना, महिला एक जना, एसोसिएटतर्फ दुई जना र क्षेत्रीयतर्फ एक जना रहनेछन्। यसका अतिरिक्त तीन जना सदस्य र चार जना विशिष्ट सदस्य मनोनीत गरिने व्यवस्था छ।
यसपटकको निर्वाचन केवल पदाधिकारी चयनको प्रक्रिया मात्र नभई चितवनको उद्योग, व्यापार र बजारको भावी दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। संस्थागत परम्परा र निरन्तरताको धारसँगै शिरिष पन्तले प्रतिनिधित्व गर्ने युवा, सामाजिक रूपमा सक्रिय र बजारका वास्तविक समस्या उठाउने परिवर्तनको धारबीचको टकरावले उद्योग वाणिज्य संघ चितवनको यो चुनावलाई विगतभन्दा फरक, गहिरो र निर्णायक बनाइरहेको छ ।—00—

