काठमाडौं, १ साउन ।
नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ। सरकारले चालु वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटअनुसार चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चतर्फ ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले ल्याएका केही नयाँ करका दरहरू जेठ १५ देखि नै लागू भएका थिए भने बाँकी सबै करदरहरू आज साउन १ गतेबाट लागू भएका छन्।
यता, महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले जम्मा बजेटको ८२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। १८ खर्ब ६० अर्ब बराबरको बजेटमध्ये असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्रै खर्च भएको देखिएको छ, जुन कुल बजेटको ८१.८७ प्रतिशत हो।
पुँजीगत खर्चमा फितलो प्रगति-
पुँजीगत खर्चमा त झन् अझै कमजोर प्रगति देखिएको छ। ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा जम्मा २ खर्ब २२ अर्ब मात्रै खर्च भएको छ। यो लक्ष्यको ६३.२ प्रतिशत मात्र हो। चालु खर्चको कार्यान्वयन ८५.९५ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फको खर्च ८७.१४ प्रतिशत पुगेको छ।
तीन खर्ब रुपैयाँको घाटा-
सरकारको आम्दानी र खर्चबीच तीन खर्ब रुपैयाँभन्दा बढीको घाटा देखिएको छ। उक्त घाटा पूर्तिका लागि सरकारले आन्तरिक र बाह्य स्रोतबाट ऋण लिएको छ।


