प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरे सोमेश्वरगढी–सीमाक्षेत्रको अवलोक, निरीक्षण

-रेशम सापकोटा
चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालले आज माडीको दक्षिणी सीमाक्षेत्र तथा ऐतिहासिक सोमेश्वरगढीको विशेष अवलोकन गर्नुभएको छ। नेपालका १०० पर्यटकीय गन्तव्यसूचीमा समावेश यस स्थलको सुरक्षा, सम्भावना र आवश्यकता प्रत्यक्षरूपमा बुझ्ने उद्देश्यबाट उहाँले स्थलअनुगमन गर्नुभएको हो।

अवलोकनमा चितवनका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरू सहभागी हुनुका साथै भारतीय सुरक्षा निकायका अधिकारीहरू समेत उपस्थित थिए। प्रजिअ अर्यालले ४५ नम्बर सीमा पिल्लर आसपासको अवस्था प्रत्यक्ष अवलोकन गर्नुभएको थियो।

अवलोकनको क्रममा उहाँले सोमेश्वरगढीस्थित धार्मिक स्थलको दर्शन गरी टिका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। उहाँसँगै उपस्थित सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र टोलीका सदस्यहरूले पनि श्रद्धापूर्वक दर्शन गरी टिका–प्रसाद ग्रहण गरेका थिए। यसले स्थलप्रति सम्मान र स्थानीय संस्कृतिप्रतिको आपसी एकता झनै प्रगाढ बनाएको देखिएको छ।

अवलोकनपछि प्रजिअ अर्यालले स्थानीय जनप्रतिनिधि तथा समुदायका प्रतिनिधिहरूसँग माडी क्षेत्रको शान्ति–सुरक्षाबारे विस्तृत छलफल गर्नुभएको छ। सीमाक्षेत्रमा देखिने चुनौती, आवत–जावतको अवस्था, वन क्षेत्रमा भइरहेका गतिविधिहरू तथा पर्यटनमैत्री पूर्वाधारका आवश्यकता विषयमा स्थानीयहरूले आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

 

उहाँले माडी क्षेत्र अत्यन्त संवेदनशील भएकाले प्रशासन निरन्तर सतर्क रहेको बताउँदै सोमेश्वरगढीको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय र पहल अघि बढाइने आश्वासन दिनुभएको छ।

आजको अवलोकनले माडी सीमाक्षेत्रको सुरक्षा, समन्वय र पर्यटन विकासबारे ठोस समझदारी निर्माण भएको स्थानीयहरूको प्रतिक्रिया रहेको छ।

Share:

सम्बन्धित समाचारहरु