भारतको जम्मू-कश्मीरमा आतंकवादी आक्रमण: एक नेपालीको मृत्यु पुष्टि

बुटवल, नेपाल — भारतको जम्मू-कश्मीर राज्यस्थित पहलगाममा भएको भीषण आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ निवासी २७ वर्षीय सुदीप न्यौपाने उक्त हमलामा ज्यान गुमाउने नेपाली नागरिक हुन्।

वडा अध्यक्ष दधिराम न्यौपानेका अनुसार, सुदीप आफ्नो परिवारसहित गत शनिबार कश्मीर घुम्न गएका थिए। उनी आक्रमणको शिकार भएपछि घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो। वडाध्यक्षले बताएअनुसार, सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको छ। सुदीपसँगै रहेका परिवारका अन्य सदस्यहरू भने सकुशल रहेका छन्।

आतंकवादी आक्रमण मंगलवार दिउँसो करिब ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको थियो। उक्त आक्रमणमा एक नेपालीसहित कम्तीमा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने धेरैजना घाइते भएका छन्। मृत्यु हुनेमा भारतका उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन्। साथै, दुई स्थानीय नागरिकको पनि मृत्यु भएको बताइएको छ।

यस आक्रमणको जिम्मा पाकिस्तान-आधारित लश्कर-ए-तैयबा आतंकवादी समूहले लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियामा भइरहेको दुई दिने भ्रमण स्थगित गर्दै देश फर्किने निर्णय गरेका छन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक आह्वान गर्ने कार्यक्रम तय भएको छ।

यता, नेपालसहित अमेरिका, रुस, इरान, इटाली, युएई लगायत विभिन्न राष्ट्रहरूले उक्त आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु