चितवन । भरतपुरमा मर्निङ वाकका क्रममा ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले घटना भएको ४८ दिनपछि काठमाडौँबाट नियन्त्रणमा ल्याएको छ। असोज २१ गते बिहान करीब ५:१५ बजे भरतपुर महानगरपालिका–४ का ६० वर्षीय कृष्णप्रसाद कँडेललाई चौबीसकोठीनजिक रामपुरतर्फ जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका कँडेल अहिले पनि उपचारमै छन्। घटनापछि ठक्कर दिने चालक फरार रहेकाले परिवार र आफन्तले निरन्तर खोजी र पक्राउको माग गर्दै आएका थिए।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार स्थान–स्थानका सिसिटिभी फुटेजसहित सयौं भिडियो विश्लेषणपछि दुर्घटनामा संलग्न मोटरसाइकल ‘ना ३७ प ८५३०’ रहेको निष्कर्ष निकालिएको हो। उक्त मोटरसाइकल गोरखा नगरपालिका–१३ का २७ वर्षीय सुनिल गुरुङले चलाएको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा गुरुङ काठमाडौंको बौद्ध क्षेत्रमा लुकेर बसेको भनी थाहा पाएपछि चितवन प्रहरीले टेकु प्रहरी कार्यालयसँग समन्वय गरी मंसिर ९ गते उनलाई पक्राउ गरेको हो। गुरुङलाई ‘सवारी अंगभंग’ मुद्दामा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।–00—


