माडी । माडी नगरपालिका–७ देवेन्द्रपुरकी दिवंगत रेनुका काफ्लेको प्रथम पुण्यतिथिको अवसरमा देवेन्द्रपुर र जगन्नाथपुरस्थित दुई विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।
एक संक्षिप्त कार्यक्रममा श्री दक्षिण कालिका आधारभूत विद्यालय देवेन्द्रपुर र श्री बालकल्याण आधारभूत विद्यालय जगन्नाथपुरमा अक्षयकोषमार्फत शैक्षिक उत्थानका लागि सहयोग हस्तान्तरण गरिएको हो। दक्षिण कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ काफ्लेको स्वर्गीय आमाको स्मृतिमा काफ्ले स्वयं, उनका छोराछोरी, बुहारी, नाति–नातिनी तथा बहिनीहरूको उपस्थिति रह्यो। दुवै विद्यालयलाई समानरूपमा १ लाख २३ हजार ४ सय ५६ रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको श्री बालकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गिरिधारी सुबेदीले जानकारी दिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक–शिक्षक संघका सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
स्वर्गीय रेनुका काफ्लेको सम्झनामा स्थापना भएको अक्षयकोषले विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै दुवै विद्यालयले काफ्ले परिवारप्रति आभार प्रकट गरेका छन्।–00–


