अन्नपूर्णको प्रवेशद्वारमा उभिएको मौलिक र आधुनिकताको संगम — धम्पुस गाउँ

रेशम सापकोटा-

चितवन । गण्डकी प्रदेशको कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका–७ मा अवस्थित धम्पुस गाउँ अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ। पोखराबाट झण्डै एक घण्टाको सवारी यात्रापछि पुगिने यो गाउँ अन्नपूर्ण हिमालतर्फ जाने यात्रुहरूका लागि प्रमुख विश्रामस्थल हो। पर्यटकहरूले दशौँ वर्षदेखि अन्नपूर्ण बेस क्याम्प पुग्ने क्रममा यही बाटो रोज्दै आएका छन्। करिब ८० वर्षअघि नै पर्यटकीय नक्सामा पाएको स्थानले आज पनि आफ्नो आकर्षण गुमाएको छैन।

धम्पुस पुगेपछि नजिकै उभिएका अन्नपूर्ण–१, अन्नपूर्ण–२, धौलागिरी र माछापुछ्रे हिमालको दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ। बिहानको घामले हिमाल चाँदीजस्तै झल्किन्छ भने दिउँसो कुहिरोको हल्का पर्दाले गाउँलाई स्वर्गीय रूप दिन्छ। छिनमै कुहिरो लाग्ने र छिनमै घाम लाग्ने धम्पुसको मौसम यसको सबैभन्दा फरक विशेषता हो।

गाउँमा अहिले करिब ६२० घरधुरी र २,४८३ जना मानिस बसोबास गर्छन्। पहिला गुरुङ समुदायको बाक्लो उपस्थिति रहे पनि अहिले सबै जात–जातिका मानिसहरू आपसी सद्भावका साथ बसोबास गर्छन्। यहाँको मुख्य आम्दानीका स्रोत कृषि र पर्यटन हुन्। स्थानीयका अनुसार धम्पुसमा आलु, टमाटर र सिताके च्याउको उत्पादन राम्रो हुने गर्दछ । गाउँका धेरैजसो घरमा कम्तीमा एक सदस्य विदेशमा छन्—विशेषगरी गुरुङ समुदायका व्यक्तिहरू इन्डियन आर्मी, ब्रिटिस आर्मी वा हङकङमा कार्यरत तथा ती क्षेत्रबाट अवकाश प्राप्त छन्। उनीहरूले पठाउने रेमिट्यान्सले गाउँको अर्थतन्त्र मजबुत बनेको छ।

धम्पुसको अर्को विशेषता यसको मौलिक बस्ती हो। गाउँको एक भागमा रहेका गुरुङ वस्तीका घरहरू परम्परागत नेपाली शैलीमा बनेका छन्। घरहरू एउटै किसिमका ढुंगाको पर्खाल र ढुंगाका छानाले सजिएका छन्। गाउँलेहरूले यो पुरानो बस्तीलाई संरक्षण गर्दै आएका छन्, जसले अहिले धेरै चलचित्र र म्युजिक भिडियोको छायांकन स्थलको रूपमा ख्याति कमाएको छ। सुन्दर घर, ढुंगाका बाटा र फुलबारीले घेरिएको यो बस्तीमा पुग्ने जो–कोही पर्यटकले ‘नेपालको मौलिकता’ अनुभूत गर्न सक्छन् ।

शिक्षा र सेवा सुविधाका दृष्टिले पनि धम्पुस अघि बढिरहेको गाउँ हो। यहाँ उच्च माध्यमिक विद्यालय, आधारभूत विद्यालय र एउटा निजी बोर्डिङ स्कुल सञ्चालनमा छन्। गाउँमा खानेपानीको सुविधा पुगेको छ, धम्पुस स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइबाट स्वास्थ्य सेवा प्रवाह गरिन्छ। प्रहरी चौकी र अधिकांश ठाउँसम्म पुगेको सवारीसाधनले गाउँको दैनिकी सहज बनाएको छ।

धार्मिक र सांस्कृतिक दृष्टिले धम्पुस समृद्ध छ। गाउँको माथिल्लो भागमा रहेको देउराली शक्तिपीठ र धम्पुसकोट मन्दिर स्थानीय श्रद्धाको केन्द्र हुन्। ती स्थलहरूमा वर्षभरि पूजाआजा, मेला र सांस्कृतिक कार्यक्रमहरू आयोजना हुन्छन्। हरेक चाडपर्वमा गाउँ सांस्कृतिक रङले रन्किन्छ—तिज,दशैं, तिहार वा अन्य स्थानीय पर्व सबै जात–जातिले मिलेर मनाउँछन्।

नजिकै रहेको अस्ट्रेलियन बेस क्याम्पले धम्पुसलाई थप पर्यटकीय महत्व दिएको छ। छोटो ट्रेकिङ मार्गमै सहज पुगिने यो गाउँ विदेशी ट्रेकरहरूका लागि पहिलो बासको रूपमा लोकप्रिय छ। हरेक सिजनमा सयौँ पर्यटक गाउँमा होमस्टे, लोकनृत्य र स्थानीय परिकारको अनुभव लिन पुग्ने गर्छन्।

माछापुछ्रे गाउँपालिका–७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी भन्नुहुन्छ धम्पुस हाम्रो गर्व हो। यो गाउँ प्राकृतिक रूपमा सुन्दर छ, तर हामी यसको सुन्दरतासँगै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पनि ध्यान दिइरहेका छौं। गाउँमा सडक, खानेपानी, विद्यालय र स्वास्थ्य सेवा विस्तारका काम लगातार भइरहेका छन्। मौलिक बस्ती र स्थानीय संस्कृति संरक्षण हाम्रो प्राथमिकता हो। धम्पुसलाई दिगो पर्यटन र आधुनिक कृषिको नमूना गाउँ बनाउन हामी स्थानीय सरकारका तर्फबाट निरन्तर प्रयासरत छौं।

आज धम्पुसले परम्परा र आधुनिकताको अद्भुत मेल प्रस्तुत गरेको छ। हिमालको छायाँमुनि बसेको यो गाउँ केवल पदयात्राको बाटो होइन, नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको जिवन्त प्रतीक हो। यहाँ पुग्ने जो–कोही दृश्यसँगै गाउँको आत्मीयता, मौलिकता र शान्ततामा बाँधिन्छ।

Share:

सम्बन्धित समाचारहरु